काठमाडौं । दुई वर्ष अघि प्रदर्शन भएको चलचित्र जारीले त्यतिबेला वर्षकै सर्वाधिक व्यापार गरेको थियो । अहिले जारीको सिक्वेलको रुपमा ‘जारी–२’को निर्माण सुरु गरिएको छ । काठमाडौँबाट आईतबार पाँचथर तर्फ लागेको यो चलचित्रको युनिटले मंगलबारबाट पाँचथरदेखि चलचित्र जारी २ को छायांकन सुरु गरेको छ । चलचित्रको सोमबार शुभ साईत गरिएको थियो ।
छायांकन सुरु भएसँगै यो चलचित्रलाई आगामी दशैंको फुलपातीबाट रिलिज गर्ने घोषणा पनि निर्माण पक्षले गरेको छ । चलचित्र जारी २ मा जारीकै कलाकारहरु दयाहाङ राई, मिरूना मगर, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखुको अभिनय रहेको छ । जारी २ मा ऋचा शर्मा थपिएकी छिन् ।
यो चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरिरहेका छन् । लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेर यसको कथा प्रस्तुत गरिने उपेन्द्रले बताएका छन् । चलचित्रको स्कृप्ट पनि उपेन्द्रले नै लेखेका हुन् । चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य रहेको निर्देशक सुब्बाले बताएका छन् ।
यो चलचित्रको निर्मातामा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा नै रहेका छन् । रामबाबुको बाँसुरी फिल्मस् र उपेन्द्रको कबड्डी फिल्म्सको संयुक्त व्यानरमा यो चलचित्र निर्माण भइरहेको छ । चलचित्र जारी सुपर हिट भएपछि आर्थिक लेनदेनको कारणले उपेन्द्र र रामबाबुको सम्बन्ध बिग्रिएको थियो । यतिबेला जारी २ को निर्माणमा यी दुई फेरी जोडिएका छन् ।
जारी २ को छायांकन सकिएपछि निर्देशक रामबाबु गुरुङले अर्को सिक्वेल चलचित्र कबड्डी ५ को छायांकन सुरु गर्नेछन् । कबड्डी ५ को स्क्रिप्ट अहिले पत्रकार यज्ञशले लेखिरहेका छन् ।
सम्बन्धित समाचार











