प्रधानमन्त्री ओलीद्वारा चलचित्र छायांकन स्टुडियो शिलान्यास

तस्बिर सौजन्य: श्रीधर पौडेल

काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको बनेपा नगरपालिका वडा नं. १० र १३ मा जोडिएको ४२ रोपानी जग्गामा नेपाली चलचित्र छायांकनको लागि ‘सिनेपा: चलचित्र छायांकन स्टुडियो’ निर्माणको शुभारम्भ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नै निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै सिनेपा ः चलचित्र छायांकन स्टुडियो निर्माण शुभारम्भ (शिलान्यास) गरे । निर्माण स्थलमै पुगेर प्रधानमन्त्री ओलीले यो इन्डोर छायांकन स्टुडियो निर्माण शिलान्यास गर्ने कार्यक्रम चलचित्र विकास बोर्डले तय गरेको थियो । तर आफ्नो कार्य व्यस्तताको कारण मंगलबार आफ्नै निवासमा स्टुडियो निर्माणको शिलान्यास गर्नु परेको प्रधानमन्त्री ओलीले जनाए ।

स्टुडियो शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण भएपछि नेपाली चलचित्रकर्मीहरूलाई ठुलो फाइदा पुग्ने विश्वास व्यक्त गरे । नयाँ इन्डोर छायांकन स्टुडियो निर्माणको लागि प्रधानमन्त्री ओलीले चलचित्रकर्मीहरूलाई शुभकामना दिँदै नेपाल चलचित्रको विकासको लागि यो नयाँ अध्यायको सुरुवात भएको पनि बताए । चलचित्र उद्योगको विकासका लागि आफू एकदमै सकारात्मक भएको पनि उनले जिकिर गरे । यस्तै काठमाडौँको बालाजुमा लामो समयदेखि रहेको नेपाल चलचित्र विकास कम्पनीको स्टुडियो हटाइएको र त्यहाँको जग्गा हराएको कुरा आफूले सुनेको पनि प्रधानमन्त्री ओलीले बताए । त्यो जग्गा कसरी हरायो भन्ने’bout खोजीको लागि तत्कालै पहल सुरु गरिने पनि प्रधानमन्त्रीले आश्वासन दिए ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लामो प्रयासपछि चलचित्र छायांकनको लागि अत्याधुनिक इन्डोर सुटिङ स्टुडियो निर्माण प्रारम्भ भएको बताए । आफ्नो पालामा यो स्टुडियो निर्माण शुभारम्भ गर्न पाउँदा खुसी लागेको उनले बताए । सञ्चार मन्त्री गुरुङले पञ्चायतकलाको नेपाली चलचित्र ऐन परिमार्जन भएर अब चाँडै नयाँ ऐन आउने पनि जिकिर गरे । अहिले राष्ट्रिय सभामा रहेको यो ऐन प्रतिनिधि सभामा आएर छलफलपछि राष्ट्रिपतिबाट पारित हुने उनले जानकारी गराए । ऐनमा केही समस्या रहेमा फेरी त्यसलाई परिमार्जन गरिने पनि उनले आश्वासन दिए ।

पूर्व सञ्चार मन्त्री एवम् काभ्रेका सांसद गोकुल बासकोटाले आफू मन्त्री हुँदा चलचित्र छायांकन इन्डोर स्टुडियो निर्माणको लागि चलचित्र विकास बोर्डलाई जग्गा उपलब्ध गराएको बताए । जग्गा उपलब्ध गराएर पनि बोर्डका दुई जना अध्यक्षको कार्यकाल सकिएर बल्ल वर्तमान अध्यक्ष दिनेश डिसीले निरन्तर पहल गरेपछि यो स्टुडियो निर्माण कार्य शुभारम्भ भएको उनले जानकारी गराए । बनेपामा भव्य इन्डोर छायांकन स्टुडियोको सपना आफूले पनि देखेको र त्यो सपना पुरा हुन लागेको पनि बासकोटाले बताए ।

अग्रज निर्देशक एवम् अभिनेता निर शाहले २०२१ सालबाट नेपालमा चलचित्र निर्माण सुरु भए पनि सरकारी पक्षबाट ६ दशकमा बल्ल सुविधा सम्पन्न अत्याधुनिक इन्डोर छायांकन स्टुडियो बन्न लागेको भन्दै खुसी व्यक्त गरे । विभिन्न सुविधा सम्पन्न यो स्टुडियोले नेपाली चलचित्रकर्मीलाई छायांकनको लागि चलचित्र निर्मातालाई ठुलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । चलचित्र विकास बोर्ड अझै पनि सञ्चार मन्त्रालयको अधीनमा रहेकाले अब बन्ने चलचित्र ऐनमा बोर्डलाई स्वायत्त गर्न उनले कार्यक्रममा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

सो कार्यक्रममा सबैलाई स्वागत गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले एउटा इन्डोर सुटिङ स्टुडियो निर्माणको लागि वर्षौँदेखिको नेपाली चलचित्रकर्मीहरूको माग रहँदै आएको स्मरण गराए । आफूले लिएको तीन वटा लक्ष्य मध्य इन्डोर छायांकन स्टुडियोको निर्माण शुभारम्भ आजबाटै भएकोमा उनले खुसी व्यक्त गरे । यो स्टुडियो दुई चरणमा तयार हुने पनि उनले जानकारी गराए । नेपाली चलचित्रको विभिन्न दृश्य छायांकनको लागि अरूको घर, कार्यालय, अस्पताल आदि भाडामा लिनु पर्ने अवस्था वर्षौँदेखि रहेकाले अब यो समस्याको समाधान इन्डोर छायांकन स्टुडियोबाट हुने विश्वास उनले व्यक्त गरे । यस्तै आफूले घोषणा गरेको दोस्रो योजना चलचित्र ऐन पनि चाँडै नै आउने अध्यक्ष डिसीले बताए । आफ्नो तेस्रो योजना अनलाइन बक्स अफिस प्रणाली लागू गर्नु रहेको र यो पनि तयार भएर अहिले परीक्षणमा भएको उनले बताए । बोर्ड अध्यक्ष डिसीले अनलाइन बक्स अफिसको औपचारिक शुभारम्भ जेठमै गरिने पनि कार्यक्रममा जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी