सडक नबन्दा जोखिमपूर्ण यात्रा

राजविराज । बाढीले बगाएको सडक २ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । २०७७ साल साउन महिनको अन्त्यतिर जिता, महुली र खाँडो खोलाको बाढीले बगाएको सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडकको झन्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

उक्त मार्गमा पर्ने दुईवटा ससाना पुलको दाँयाबायाँ दुवै तीरको करिब ५०–५० मिटर सडक बाढीले बगाएको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा समेत त्यसको मर्मत पनि हुन सकेको छैन । आवतजावतमा समस्या भएपछि स्थानीय केही टेम्पो, सिटरिक्सा तथा म्याजिकलगायत सवारीका चालकले पुलको केही भागमा ढुंगा, माटो र बालुवाको बोरा राखेर जोखिमपूर्ण ओहोरदोहोर गर्न थालेका छन् । तर, अति साँघुरो भएकाले कुनै बेला पनि सवारी साधन दुर्घटनामा पर्न सक्ने जोखिम रहेको सो रुटमा टेम्पो चलाउने तिलाठी कोइलाठी गाउँपालिका–२ का विनोद मण्डलले बताए ।

राज्यले ध्यान नदिँदा यो बाटोमा विगत २ वर्षदेखि आवागमन ठप्प रहेको माउन्ट सगरमाथा यातायात प्रालि राजविराजका सचिव दिलिपकुमार साह बताउँछन् । सिटी रिक्सा, म्याजिक, टेम्पोलगायतका छोटो सवारी साधन जोखिम मोलेर जसो तसो आवतजावत गर्छन्, साहले भने ‘तर ठूला सवारी साधन भने चल्न छाडेको दुई वर्ष बितिसक्यो ।’

दुई वर्ष पहिले सो रुटमा आधा दर्जनभन्दा बढी बस चल्ने गरेकोमा सडक बगाएपछि त्यस्ता सवारी साधन चल्न छाडेको उनको कथन छ । तिलाठी–हनुमाननगर सडक खण्ड भएर सप्तरी सदरमुकाम राजविराज जाने यात्रु अहिले ५ किलोमिटर टाढा पर्ने अर्कै बाटो प्रयोग गर्न बाध्य भएको उनले सुनाए ।

कोसी, जिता, महुली, खाडोलगायतका नदी खोलाबाट बग्ने पानीको उचित निकास न हुदाँ बर्सेनि यहाँका जनताले सडक कटानबाट सास्ती भोग्नुपरेको तिलाठी कोइलाठी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झा बताउँछन् ।

‘बाढीको पानी निकासका लागि यहाँ ससाना पुल होइन, एउटा लामो पुल नै आवश्यक रहेको बताएका उनले नगर र गाउँपालिकाको बजेटले सो सम्भव नभएको बताए । उनका अनुसार यस मार्गबाट विराटनगर, धरान, इटहरीका साथै सीमावर्ती कुनौली, निर्मली, दरभंगा, मधुवनीलगायतका सहरसम्म पुग्न सहज हुने गरेको थियो । तर, सडक कटानमा परेपछि सवारी साधन आवतजावत ठप्प भई एक गाउँबाट अर्काे गाउँ जान र विरामीलाई अस्पतालसम्म लैजान पनि समस्या भएको छ ।

राजविराज भन्सार कार्यालय समेत यसै सडक खण्डको ३ सय मिटर दूरीमा मात्र अवस्थित छ । बाढीले सडक बगाएपछि ठूला सवारी साधनको आवागमन ठप्प हुँदा भन्सारको राजस्व असुली समेत प्रभावित बनेको उनको कथन छ ।

नजिकका बजार पुग्न छोटो बाटो भएकाले दैनिक १ हजार देखि २ हजार सर्वसाधारण आवतजावत गर्ने उक्त बाटो कटानमा परेपछि अहिले दुई सयको संख्यामा मात्र यात्रु आवतजावत गर्ने गरेको स्थानीय बताउँछन् । ‘पहिले सडक दुरुस्त हुँदाको समयमा पसलमा निकै कारोबार हुने गथ्र्यो, स्थानीय नास्ता पसले अशोक साहले भने अहिले पटक्कै छैन । बाढीले भत्काएको सडक चाँडो निर्माण गरी राहत दिन स्थानीयले सरकारसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद