संखुवासभा । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालय कर्मचारी बिहिन छ । ९ जनाको दरवन्दी रहेको किमाथाङ्का भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी बिहिन हुदाँ भोटखोलाबासीलाई सास्ती पाएका छन् ।
किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गते देखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । किमाथाङ्का भन्सार कार्यालयका प्रमुख बल बहादुर श्रेष्ठको भैरवहा भन्सार कार्यालय सरुवा भएपछि एक जना कार्यालय सहयोगीको भरमा छ ।
उत्तरी क्षेत्रमा किमाथाङ्का वि.स.२०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ साल देखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ ।
उता किमाथांका सीमा भन्सार कार्यालयले करिव २३ वर्षदेखि सदरमुकाम खाँदबारी मै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् । किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनु पर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।
उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आएपनि भन्सार कार्यालय नहुँदा भोटखोलाबासीलाई सास्ती पाएका छन् । भन्सार कार्यालयले गत बर्ष ७५ हजार ५ सय ५७ राजश्व संकलन भएको थियो । गत जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले १ लाख ८० हजार राजश्व संकलन गरेको छ ।
किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटी लगायत सामान आयात निर्यात गर्दा तीन चार दिन पैदल हिनेर सरदरमुकाम खाँदबारी आउनु पर्ने बाध्यता छ ।
किमाथाङ्कावासी सीमापारिको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजार मार्फत सामान आयात गर्दै आएका छन् । किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशत भन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १ सय ६२ किमि छ ।