धनगढी । कैलालीस्थित हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख हरहिर पन्तको कम्पनीले आठ वर्ष हुँदा पनि सेती अस्पतालको भवन निर्माण गर्न सकेको छैन् । हरहिर पन्तकी श्रीमती सञ्चालन रहेको थेगिमले ८ वर्षसम्म सेती अस्पतालको भवन निर्माणको काम पूरा नगरेको हो । हरहिरले श्रीमतीको नाममा निर्माण कम्पनी सञ्चालन गर्दै आएका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढी र रविना–थेगिम जेभीको बिचमा २०७४ कार्तिकमा सेती अस्पतालमा नयाँ भवन निर्माण गर्न सम्झौता भएको थियो । निर्माण कम्पनीले ३० महिनाभित्र अस्पताल भवन निर्माणको काम पूरा गर्नुपर्ने हो । तर, सम्झौता भएको ९१ महिना हुँदा पनि भवन निर्माणको काम अलपत्र पारिएको हो । रविना÷थेगिम जेभीले ३० महिनामा पूरा गर्नुपर्ने अस्पताल भवनको काम ९१ महिनासम्म पनि अधुरै छ । यता, हेभी इक्विप्मेन्ट गोदावरीका डिभिजन प्रमुख पन्तले फोन उठाएनन् ।
सेती प्रादेशिक अस्पतालको सामाजिक इकाइ, ओपीडी, भिडिओ ए–क्सरे, स्वास्थ्य बीमा, सिटि स्क्यान लगायतका सेवा निर्माणधिन भवनबाट दिन थालिएको छ । तर, स्थान अभावका कारण सेवा विस्तार र ओपिडी सेवामा समस्या हुने गरेको छ । ओपीडि सेवाका लागि अस्पताल आउने बिरामीका लागि उक्त क्षेत्रमा स्थान अभाव देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले ओपिडी सेवा सञ्चालनमा समस्या रहेको बताए । उनले भने, ‘सेती अस्पतालमा भवन निर्माणको चरणमा छ । आठ वर्षदेखि भवनको काम पूरा भएको छैन । अस्पतालमा बिरामीको चाँप बढेको छ । सेवा थप गर्दै लगेका छौ । तर, भवन नभएकाले सेवा विस्तार र सञ्चालनमा समस्या हुने गरेको छ । विशेष गरेर ओपिडी, भिडिओ एक्सरे, सिटीस्क्यान, एमआरआइ सेवामा समस्या हुने गरेको छ ।’
निर्माण कम्पनीले अस्पताल भवन निर्माण गर्न १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरेको थियो । २०७७ वैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन । तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ। ‘एक तला मात्र भएको छ । दोस्रो तलाको काम बाँकी नै छ । प्रसूति सेवा स्तान्तरण गर्ने योजना थियो । तर, पूरा भएको छैन । पुराना भवनमा प्रसूति सेवा हाल सञ्चालनमा छ,’ श्रेष्ठले भने ।
संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीका सूचना अधिकारी पुष्प भट्टले सेती अस्पतालको भवन निर्माण नसकिएको बताए । तर, चालु आर्थिक वर्ष भित्रमा भवनको काम पूरा हुने दाबी उनको छ । सहरीले निर्माण थालेको भवनको भुइँ तलामा अस्पतालले सेवा सुरु गरेपनि माथिल्लो तलाको काम अलपत्र पारिएको हो ।
भट्टले भने, ‘रङरोगन, विद्युतीकरण, लिफ्ट यस्तो कामहरू बाँकी छ। यो आर्थिक वर्षमा सकिन्छ । तर, तलको तलामा भने, अस्पतालले सेवा सुरु गरेको छ ।’
सम्बन्धित समाचार











